भीआईपीको उडानमा नयाँ नियम बनाउनुपर्छ सांसद – योगेश भट्टराई

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं १७ फागुन । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआईपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारी लगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए ।

विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानविन गर्नुपर्ने बताए ।

सांसद भट्टराईले भने, ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’

मन्त्री रविन्द्र अधिकारीलाई सम्झँदै सांसद भट्टराईले भने– ‘रविन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए । उनले भने, ‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३र३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१ र २२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस