नेकपाका नेताहरूको सम्झनामा रविन्द्र अधिकारी, कसले के भने ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ५ मिनेट

फागुन  १६ , काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लोकप्रिय नेता रविन्द्र अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सिंगो देशनै शोकमा डुबेको छ । अाशावादी युवा नेताको अकल्पनिय दुर्घटनामा मृत्यु हुँदा नेकपाका नेताहरू स्तब्ध भएका छन । सबैले रविन्द्रको विगतको काम र संगतका बारेमा वयान गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन । हामीले नेकपाका प्रभावशाली नेताहरूले रविन्द्रको बारेमा व्यक्त गरेको शोकका शब्दहरू यहाँ प्रस्तुत गरेका छाैँ ।

झलनाथ खनाल (नेकपा सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री)

नेकपाका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन । उनले बुधबार शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहितको निधनबाट सिङ्गो मुलुक स्तब्ध बनेको उल्लेख गरेका छन । उनले शोक विज्ञप्तीमा यस दुर्घटनाबाट पार्टी, सरकार र मुलुकलाई अपुरणीय क्षति भएको  बताएका छन ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उनले जारी गरेको शोक वक्तव्य ।

इश्वर पोखरेल (नेकपा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री)

नेकपाका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरलले सँगै हेलिकप्टरमा यात्रा गरेको तस्बीरसहित सम्झना गरेका छन । उनले सम्भावनाको खोजी गर्दै यसैगरी यात्रा गर्ने अवसरको यन्त्य भएको भन्दै खबर पत्याउनै कठिन भैरहेको बताएका छन । उनले लेखेका छन  ‘कमरेड रबिन्द्र ! संभावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन !! राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन !!
पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली !!’

स्वर्गीय अधिकारीसँगै हेलिकप्टर यात्रा गरेको तस्बीरमा उपप्रधानमन्त्री पोखरेल र फोसबुक मार्फत सार्वजनिक गरेको शोक सन्देश ।

बामदेव गाैतम (सचिवालय सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री)

नेकपाका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बामदेव गाैतमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको हेलिकप्टर दुर्घटना अत्यन्तै दुःखद रहेको बताएका छन । उनले बुधबार शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहितको निधनबाट अाफू स्तब्ध बनेको उल्लेख गरेका छन ।हस्तलिखित शोक सन्देशमा गाैतमले नेपाली कम्युनिष्ट अान्दोलनले उदयीमान नेता गुमाएको उल्लेख गरेका छन । उनले मन्त्री अधिकारीको निधनबाट सिंगो नेपाल नै शोकमा डुबाेको बताएका छन । उनले मृतक सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन ।

स्वर्गीय रविन्द्र अधिकारी र बामदेव गाैतमको हस्त लिखित शोक सन्देश ।

विष्णु पाैडेल (नेकपा महासचिव)

नेकपाका महासचिव विष्णु पाैडेलले राष्ट्रको सच्चा पहरेदार नेताको रूपमा रविन्द्र अधिकारीको सम्झना गरेका छन । उनले जनताको प्रिय नेता र पार्टीको बलियो खम्बा रहेका रविन्द्र प्रत्येक नेपालीको स्मृतिमा चीरकाल सम्म बाँची रहने विश्वास समेत व्यक्त गरेका छन । उनले लेखेका छन ‘राष्ट्रको सच्चा पहरेदार, जनताको प्रिय नेता र पार्टीको बलियो खम्बा कमरेड रविन्द्र अधिकारीप्रति हार्दिक एवम् भावपूर्ण श्रध्दान्जली । कमरेड रविन्द्र प्रत्येक नेपालीको स्मृतिमा चीरकाल सम्म बाँची रहनुहुनेछ ।

स्वर्गीय अधिकारीको तस्बीर पोष्ट गर्दै फेसबुकमा महासचिव पाैडेलले लेखेको शोक सन्देश ।

गोकर्ण विष्ट (नेकपा स्थायी समिति सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)

नेकपा स्थायी समिति सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रविन्द्र अधिकारीको  मृत्यु पत्याउनै कठिन परेको बताएका छन । उनले रविन्द्रको मृत्युले अाफू स्तब्ध बनेको उल्लेख गरेका छन । विष्टले लेखेका छन ‘तीन दशकभन्दा लामो समयदेखिको मेरो घनिष्ठ मित्र तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा मलाई पत्याउनै कठिन भएको छ । यो घटनाले मलाई अत्यन्त स्तब्ध बनाएको छ । उहाँको निधनले देशका लागि अपुरणीय क्षति पुगेको छ ।’

स्वर्गीय अधिकारीको तस्बीर पोष्ट गर्दै मन्त्री अधिकारीले व्यक्त गरेको शोक सन्देश ।

सूर्य थापा (नेकपा केन्द्रीय सदस्य एवं पूर्व पर्यटन विभाग प्रमुख)

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटन विभगका प्रमुख सूर्य थापाले स्वर्गीय अधिकारीले मन्त्री हुँदा अनेकाैँ षडयन्त्रको घेरा तोडेको स्मरण गर्दै दुर्घटनाले अकल्पनीय रूपमा चुँडेर लाँदा अाफू स्तबन्ध बनेको उल्लेख गरेका छन । उनले केही समय अघि काभ्रेको तिमाल जाँदाका तस्बीरहरू राखेर रविन्द्रको सम्झना गरेका छन । थापाले लेखेका छन ‘काभ्रेकाे तिमालबाट फर्कँदा बाटाेभरि गरेकाे समीक्षा र सरसल्लाह स्मृतिमा ताजै छ, त्यही यात्रा अन्तिम भयाे । एकदिन पात्लेबन हाेमस्टे र नमाेबुद्द सँगै अाउला भनेका थियाै, पाेखरामा देखादेख मात्र भयाे । र, अाज सहयात्रामा पीडादायी विश्राम लियाै ! तिमीले षडयन्त्रकाे खतरनाक घेरा त छिचाेलेका थियाै, जतिबेला दुष्टहरू साझा यत्नद्वारा नाजवाफ नै भएका थिए । याे विपद्ले असमयमै र अकल्पनीय रूपमा चुँडेर लियाे । अलविदा !! अाफ्नाे अमूल्य जीवन गुमाउने तिमीसहित ७ जना सबै दिवंगतहरूमा हार्दिक श्रद्धाञ्जली !’

थापाले स्वर्गीय अधिकारीसँगको सम्झनाका तस्बीरसहित पोष्ट गरेको शोक सन्देश ।

dainiki.com बाट साभार 

प्रतिक्रिया दिनुहोस