फेसबुकमा चिनजान, पाकिस्तानी युवतीसँग बागलुङमा बिहे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

१३ फागुन, बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् ।

बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन् ।पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनियरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।

दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी हुन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी हुन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत पुगेका थिए । केटीका अभिभावक नआए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस साथमा लिएकी थिइन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताइन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

‘अदालतमा रीतपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने ‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।’

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताको उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस