गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाँउपालिका-३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञान बहादुर रुम्वा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार प्रतिवादीहरुलाई खोजी गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पुरन रेउलेलाई काठमाडौं धापासीबाट तथा आइत तामाङ र ज्ञान बहादुर रुम्वालाई सितापाईलाबाट पक्राउ गरेको हो । उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद विक्री गर्न प्रयोग गरेको ना।२ च १४५८ नम्बरको गाडी र १ थान हतकडीको चाबी समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

साथै सोही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई व्यूरोबाट खटिएको प्रहरीले यसभन्दा अगाडि नै काठमाडौंको विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनमा पठाएको समेत ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस