किसानले मासु व्यवसायीहरुको दादागिरी कहिले सम्म सहनुपर्ने हो मन्त्रि ज्यु ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

माननिय कृषि मन्त्रि ज्यु नमस्कार !

म एक साधारण किसान हु । मैले घरमा २००० बोइलर कुखुरा पालेको छु । अहिले कुखुरा पालन व्यवसायमा निकै चुनौतिहरु थपिएका छन । कुखुराको मुल्य कुन बेला के हुन्छ टुङ्गो छैन । ९० रुपैया प्रति गोटामा किनेर १८० प्रति के.जि मा बेच्नु पर्ने नि हुनसक्छ यस्तै ३५–४० प्रति गोटामा किनेर २३०–२४० मा बेचेको पनि पाइन्छ । आकाशे खेति जस्तो भएको छ कुखुरा पालन व्यवसाय । दानाको मुल्य आकाशिएको छ । चल्ला त्यस्तै छ । उत्पादन गर्ने किसान ले उचित मुल्य पाएका छैनन । कुखुरा तयार गरेर जब बजारमा लगिन्छ कुखुरा को मासु व्यवसाय गर्नेहरुको दादागिरी त्यस्तै छ । साना भयो यो भयो त्यो भयो भनेर किसानलाई दोश्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरेको पाईन्छ ।

माननिय मन्त्रि ज्यु , के कुखुरा पालन व्यवसाय गर्नु मेरो दोष हो ? के समृद्द नेपाल बनाउन कुखुरा पालन व्यवसाय को कुनै भुमिका छैन हो ?

बोईलर कुखरा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ६–७ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ५–६ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन । नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् ।

तर किसानको दुख को मुल्य कहिले पाउने थाहा छैन । खोरको व्यवस्थापन, चल्ला हुर्काउने बेलाको व्यवस्थापन, कुखुराको खोरमा तापक्रम तथा प्रकाश व्यवस्थापन, कुखुराको दानापानीको व्यवस्थापन, कुखुराको स्वास्थ्य व्यवस्थापन आदि सबैकुरामा ध्यान दिई हुर्काएको कुखुरा कति बेला के हुन्छ टुङ्गो हुदैन ।

सरकार ले कृषि क्षेत्रमा लागौ । कृषि उत्पादन बढाउन जोड दिउ आदि भन्छ तर आफ्नो घरमा ल्याएर हुर्काएर नाफा होला की भनेर लगेको कुखुरा जब मासु व्यवसाय गरिहेको कोल्ड स्टोरमा पुग्छ त्यहा किसान दोश्रो दर्जाको नागरिक बन्दै किसानको पसिनाको अबमुल्यन हुन्छ तब बेकार कुखुरा पालेछु भन्ने लाग्छ । बरु ४५ डिग्रीको तापक्रममा गएर काम गर्न ठिक कुखुरा पालेर बेठिक गरेछु जस्तो लाग्छ । २००० कुखुरा पाल्न सरदर चल्लाको ५० नै राख्दा पनि १ लाखको चल्ला, २०–२५ हजारको भुस, काठको धुलो ६–७ हजारको , औषधी सालाखाला ३०–४० हजारको र दाना आदिको हिसाव राख्दा २ महिनामा त्यस्तै ५ लाखको कारोवार र वर्षको ३०लाखको कारोवार देखिने यस्तो पेशामा लागेका किसानलाई ३–४ लाखको पसल खोलेर बसेकाहरुले अपमान गर्दा बोल्ने निकाय खै ?

माननिय ज्यु , सरकार कहा छ ? कुखुरा पालक किसान संघ कहा छ ? के अब काम गरेर खान नपाउने नै हो त ?कति दिन सम्म यस्तो दादागिरी सहनु पर्ने हो ? किसानका समस्या हजारौ छन तर सुन्ने निकाय खै ?

उहि तपाईहरुको                                                                                                                        पिडित किसान   

प्रतिक्रिया दिनुहोस