कहाँ गए दर्शक : किन चलेनन् गोपी, रणवीर र सय कडा दश ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

माघ १८ गते शुक्रबार एकसाथ तीनवटा नेपाली चलचित्र गोपी, रणवीर तथा सय कडा दश प्रदर्शनमा आए । मेकिङका हिसाबले तीनवटै चलचित्रलाई उत्कृष्ट मानियो, प्रचार–प्रसारमा पनि यी तीन चलचित्रबीच प्रतिस्पर्धा चल्यो भने माउथ पब्लिसिटी समेत प्रसस्त भयो । यद्यपि चलचित्रको सही मूल्यांकन सिनेमा हलमा हुन्छ । सिनेमा हलमा दर्शकको भीड जति बढी हुन्छ, त्यति नै उक्त चलचित्र सफल भएको मानिन्छ । यद्यपि यो साता प्रदर्शनमा आएका तीनवटै चलचित्रको व्यवसायिक पक्ष भने निराशाजनक छ ।

चलचित्र प्रदर्शन प्रारम्भ भएको तीन दिनपछि चलचित्र वितरक तथा जडिबुटीस्थित पुष्पाञ्जली सिनेमा हलका सञ्चालक गोपालकाजी कायस्थले फेसबुकमा एउटा स्टाटस लेखे– ‘हलमा दर्शक नभएर झिँगा धपाउँदै । हलमा दर्शक आउन फागुन १७ नै कुर्नु पर्ने भो– जय क्याप्टेन ।’ कायस्थको उक्त स्टाटस शुक्रबार प्रदर्शन भएका तीन चलचित्रप्रति लक्षित थियो । चलचित्र अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सिनेमा हलमा दर्शकको अभाव भएको आशयसहितको व्यंग्यात्मक स्टाटस लेखेका छन्– ‘दर्शक हराएको सूचना…’ ।  

शुक्रबार प्रदर्शन भएका चलचित्र हेरेका दर्शकहरूको प्रतिक्रिया सकारात्मक नै छ भने समीक्षकहरूको मिश्रित । यद्यपि चलचित्रको व्यवसायिक पक्षले भने यी चलचित्रका लगानीकर्ताहरूको निद्रा गायब बनाएको छ । 

प्रतिक्रिया दिनुहोस